सरकारले वार्तामा बोलाएकै थिएन : यादव

जेष्ठ १२, २०७३- 
आन्दोलनरत मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफूहरुलाई वार्ताका लागि औपचारिकरुपमा नबोलाएको दावी गरेका छन् । आफ्नो पार्टीले आज रुपन्देहीको 

भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘वार्ताका लागि टेण्डर आव्हान गरेर कसैलाई आउन र कसैलाई सर्वदलीय बैठकमा आउन भन्दै बोलाएर सरकारले आफ्नो गैरजिम्मेवारी उजागर गर्‍यो ।’ उनले सरकारसँग मोर्चाले ३६ पटक वार्ता गरेको भएपनि सरकार लचक नभएकाले समस्या जस्ताको तस्तै रहेको पनि बताए । 
‘सफल वार्ताका लागि सरकारले मोर्चासँग विगतमा गरेका सहमतिको कार्यान्वयन, संविधान पुर्नलेखनको प्रतिबद्धता र पक्रउ गरिएका मोर्चाका कार्यकर्ताको रिहाई गर्नेमा विश्वस्त बनाउन सक्नुपर्छ,’ यादवले भने । 

आफू सत्तामा भएकै बेलामा स्थानीय निकायको निर्वाचन गरेर स्थानीय निकाय कब्जा गर्ने मनस्थिति सरकारमा सहभागि मुख्य दलको देखिएको भन्दै उनले भने, ‘यसले मुलुकलाई अझ धरापमा पार्नेछ ।’ मुलुक संघीयतामा गइसकेकाले अबको निर्वाचन प्रादेशिक संरचनाअनुसार हुनुपर्ने पनि उनले बताए । ‘अब संघीय संरचना अनुसार हुन्छ । 
अब स्थानीय निकायको निर्वाचन केन्द्रीय सरकारले गराउन सक्दैन,’ उनले भने । राजनीतिक मुद्दाको छिनोफानो नगरिकन चुनाव गराइएमा द्वन्द्वको समाधान नहुने पनि उनले बताए । सरकारले करिब ३ सय मोर्चा कार्यकर्तालाई विभिन्न मुद्दा लगाएर धरपकड गरेको दावी पनि उनले गरे । 
 जेठ १५ मा मधेशी गठबन्धनको राजधानी केन्द्रित आन्दोलन सकिने र त्यसपछि थप आन्दोलनको घोषणा गरिने भन्दै उनले आइरहेको वर्षालाई ध्यानमा राखेर आन्दोलनका कार्यक्रम बनाउने पनि बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.