संसदमा विमलकी बहिनी मनिषाको मृत्यु प्रश्न


२०७३ जेष्ठ १४ शुक्रबार 
मनिषाको मृत्यु र उद्योगपति केडिया अपहरणबारे जानकारी गराउन माग काठमाडौँः व्यवस्थापिका संसद् शुक्रबारको बैठकमा सांसद् विक्रम खनालले नवलपरासी बर्दाघाट निवासी मनिषा घर्तीमगरको हत्या शङ्कास्पद भएकाले यसको जवाफ सरकारले दिनुपर्ने माग गरेका छन् ।
 खनालले मनिषाको शंकास्पद मृत्यु र बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरणबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका हुन् । सभामुख ओनसरी घर्तीसँग समय लिई अर्का सांसद् दिलशोभा पुनले मनिषाको शङ्कास्पद मृत्युका बारेमा उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिन गर्न र दोषिमाथि कारबाही गर्न माग गरिन् ।
 सांसद् राजेन्द्रबहादुर अमात्यले बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरणकारीको खोजी गरी उहाँलाई अपहरणमुक्त गर्न सरकारसँग माग गरे । सांसद् डा सुवोध पोखरेलले संविधान कार्यान्वयनमा सरकार र दलहरु जिम्मेवार बन्नुपर्ने बताए भने प्रेम सुवालले नेपालको सीमामा भारतीय प्रहरी आउन भारत सरकारले रोक्नुपर्ने बताए ।
 सांसद टेकबहादुर बस्नेतले भूकम्प प्रभावित जनतालाई आवास निर्माण गर्न वर्षात् अगाडि नै आर्थिक रकम वितरण गरिसक्न पुनःनिर्माण प्राधिकरणले ध्यान नदिएको गुनासो गरे । सांसद परशुराम तामाङले भूकम्पबाट क्षति भएका एकहजार १८ गुम्बा पुनःनिर्माणमा सरकारको ध्यानकर्षण गराए । सांसद जनकराज जोशीले निजामति सेवालाई राजनीतिकरणले तहसनहस पारेको चर्चा गर्दै निजामति सेवामा ट्रेडयुनियन अधिकार आवश्यक छ की छैन समीक्षा गर्ने बेला आएको बताए ।
 सांसद विदुर सापकोटाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत सांसद गरिब जनताको घर आँगनमा पुगिरहेको हुँदा यस्ता लोकप्रिय कार्यक्रमलाई बन्द नगर्न माग गरे । अर्का सांसद नारायणबहादुर कार्कीले संविधान कार्यान्वनमा राजनीतिक दलहरु गम्भीर बन्न आग्रह गरे भने लालबहादुर रावलले बझाङ जिल्लालाई सुख्खाग्रस्त जिल्ला घोषणा गर्न माग गरे । 
 बैठकमा बाढी पहिरोले पुर्याएको जनधनप्रतिको क्षतिप्रति गम्भीर बन्न सभामुख ओनसरी घर्तीले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.