छात्राबासमा आगलागी, १७ बालिकाको मृत्यु
बैंककः उत्तरी थाइल्याण्डको एक विद्यालयको आवासीय भवनमा आगो लाग्दा १७ जना बालिकाको मृत्यु भएको छ ।
आइतबार राती थाइल्याण्डको कन्या विद्यालयको छात्राबासमा आगलागी हुँदा ठूलो हताहती भएको हो ।
उक्त विद्यालयमा अध्ययन गर्ने बालिका बस्ने गरेको भवनमा आइतबार राति आगो लागेको थियो ।
त्यसमा परी १७ जनाको ज्यान जानुका साथै अरु पाँचजना जलेर घाइते भएका छन् । साथै आगो लागेर भवन भत्किँदा त्यसमा रहेका दुई जना बालिका अझै हराएको समाचारमा जनाइएको छ ।
उत्तरी थाइल्याण्डको जियाङ राइ भन्ने स्थानमा विद्यालय रहेको छ ।
आइतबार राति करिब ११ बजे उक्त भवनमा आगो लागेको थियो । आगोमा जलेर मृत्यु भएका बालिका १० देखि १२ वर्षसम्मका रहेका छन् ।
उक्त बोडिङ् स्कुलमा ३८ जना बालिका अध्ययनरत रहेका छन् । उनीहरु थाइल्याण्डको जियाङ माइ गाउँबाट अध्ययनका लागि यहाँ आएका हुन् । आगोको मुस्लो बढेपछि त्यहाँ रहेका बालिकालाई उद्वारकर्मीले पनि उद्वार गरी बाहिर ल्याउन सकेका थिएनन् ।
आगो लाग्नुको कारण थाहा हुन सकेको छैन । त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । तर प्रारम्भिक अनुसन्धानमा पाइएअनुसार विद्युतीय गडबडीका कारण राति अकस्मात आगो लागेको पाइएको छ । एजेन्सी


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.