खेल विकासको पैसाले गाडी किन्ने !
२०७३ जेष्ठ १३ बिहीवार
काठमाडौं: नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गोप्य रूपमा गाडी गरिद गर्ने निर्णय गरेको खुलासा भएको छ । एनओसीको वैशाख ३१ गते बसेको बोर्ड बैठकले गरेको अन्य निर्णय बाहिर आए पनि गाडी किन्ने निर्णय भने गोप्य राखिएको थियो । बैठकले ‘महिन्द्रा एक्सयुभी' नामक गाडी खरिद गर्ने निर्णय गरेको एनओसी स्रोतले बतायो । उक्त गाडीको बजार मूल्य अहिले करिब ५० लाख रुपैयाँ पर्छ ।
एनओसीलाई गाडी खरिद गर्ने आर्थिक स्रोत भने स्पष्ट पारिएको छैन ।
एनओसीको आन्तरिक स्रोतबाट गाडी किन्ने भन्ने तयारी गरेको बताइएको छ । एनओसीले गाडी किन्नु डेढ महिनाअघि नै ड्राइभर भने नियुक्ति गरिसकेको छ । यसअघि २०५६ सालमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले एनओसीका लागि गाडी पठाए पनि भन्सार तिर्न नसक्दा त्यो गाडी भन्सारबाटै बेपत्ता भएको थियो ।
आईओसी र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) बाट विभिन्न शीर्षकमा आउने सहयोग एनओसीको आर्थिक स्रोतको मुख्य आधार हो ।
तर अहिलेसम्म गाडी किन्नका लागि आईओसी वा अन्यत्रबाट छुट्टै रकम नआएको एनओसी स्रोतको दाबी छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यालय प्रयोजनका लागि जिप किन्न लागेको बताए ।
‘गाडी किन्ने विषय सार्वजनिक गरिनुपर्छ भन्ने सोचेनौं । बैठकले एउटा जिप खरिद गर्ने निर्णय गरेको छ । यसको लागि कोटेसन पनि भइसकेको छ ।
अहिलेसम्म एनओसीको आफ्नै गाडी नभएकाले आईओसी र ओसीएका प्रतिनिधि नेपालमा आउँदा प्रयोग गर्न सजिलो होस् भनेर जिप खरिद गर्ने निर्णय गरेका हौं', उनले भने ।
यसअघि २०५६ सालमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले एनओसीका लागि गाडी पठाए पनि भन्सार तिर्न नसक्दा त्यो गाडी भन्सारबाट बेपत्ता भएको थियो ।
आईओसीले गाडी नै किन्न भनेर छुट्टै सहयोग नगरे पनि आईओसी, ओसीएबाट विभिन्न शीर्षकमा आउने सहयोग र एनओसीलाई माया गर्ने प्रायोजनबाट बचत रकमले गाडी खरिद गर्न लागिएको श्रेष्ठले बताए । एनओसीको कार्यालय व्यवस्थापन खर्चका लागि मात्र आईओसीबाट वार्षिक एक लाख ५० हजार अमेरिकी डलर (करिब एक करोड ५० लाख रुपैयाँ ) आउने गर्छ ।
यसबाहेक खेलकुद विकास, खेलाडीको छात्रवृत्ति, पारा ओलम्पिक, ओलम्पिक डेजस्ता कार्यक्रममा समेत आईओसी र ओसीएबाट ठूलो आर्थिक सहयोग आउने गरेको छ । यस्तो रकमको विषयमा एनओसीले खुलासा गर्ने गरेको छैन ।
नेपाली खेलकुदको विकासका लागि आउने यही रकमबाट एनओसीले गाडी खरिद गर्ने निर्णय गरेको हो ।
यसअघि एनओसीको बार्ड बैठकले गरेका हरेक निर्णयहरू पनि गोप्य राखिने गरिएको थियो । तर एनओसीको पछिल्लो बोर्ड बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टलाई ब्राजिलको रियो दि जेनेरियोमा आयोजना हुने आसन्न ओलम्पिकका लागि सेभ दि मिसनको जिम्मेवारी दिने गरी गरेको निर्णय भने सार्वजनिक गरेको थियो । तर त्यही बैठकले गरेको गाडी खरिद गर्ने र अन्य निर्णय भने सार्वजनिक गरिएको छैन ।Rrom Annapurnapost


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.