मोदीको नाममा आएका साइकल थन्किए
२०७३ जेष्ठ ११
जनकपुरधाम: भारतीय राजदूत रञ्जित रेले समय नदिएपछि दलित र विपन्न छात्रालाई प्रोत्साहन स्वरूप प्रदान गर्न लागिएको पाँच सय साइकल थन्किएका छन् । भारतीय राजदूतावासको सहयोगमा जिल्ला विकास समिति धनुषामार्फत् खरिद गरिएको २८ लाख ४० हजार मूल्यको साईकल वितरण भएको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने क्रममा तराईका ग्रामीण भेगका दलित र विपन्न छात्रालाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गर्ने बताएका थिए ।
सोही अनुरूप जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा ग्रामीण भेगका विद्यालयमा दलित र जेहेन्दार छात्रा छनोट गरिएको र पाँच सय छात्रालाई साइकल उपलब्ध गराउने योजना बनेको थियो ।
जिविस धनुषाले टेन्डर आह्वान गरी साइकल खरिद गरेको भए पनि दूतावासबाट हालसम्म खरिद रकमसमेत उपलब्ध नगराइएपछि साइकल व्यापारीले समेत ताकेता गर्न थालेको जिविसका निमित्त स्थानिय विकास अधिकारी राजकिशोर साहले बताए ।
गत चैत ३० गते साइकलका पार्टपुर्जा कसेर व्यवसायीले जिविसको प्रांगणमा राखिदिए पनि वितरणका लागि भारतीय राजदूतावासले राजदूत रेको समय उपलब्ध नगराउँदा साइकल अलपत्र परेको साहले बताए । साहले भने, ‘जिविसबाट आफूहरूले राजदूतावासलाई साइकल वितरणका लागि राजदूत रेको समय मिलाई दिन आग्रह गरेपछि वैशाख पहिलो साता उनको समय मिलाइएको थियो ।
कार्यालयले कार्यक्रमका लागि मञ्चसमेत निर्माण गरिसकेको अवस्थामा एकाएक दूतावासबाट राजदूतको समय अभावको कारण देखाउँदै कार्यक्रम स्थगित गरेपछि साइकल लिन जिविस आइपुगेका छात्राहरू फर्किनु परेको थियो ।'
जानकी नवमीको बेला राजदूत रे जनकपुर आउँदा उनलाई साइकल वितरण गरिदिन आग्रह गरिएको थियो । सो बेला पनि उनको समय मिलाउन नसकेको साहले बताए । त्यसपछि हालसम्म दूतावासले साइकल वितरण कार्यक्रम नमिलाएको साहले बताए ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.