'बाख्राको जस्तो स्वर' भन्दै गायनबाट निकालिएको थियो..


२०७३ जेष्ठ १४ शुक्रबार 
विश्वप्रसिद्ध पपगायिका साकिराको गीत र स्वर मन नपराउने संगीतप्रेमी सायदै होलान् । पृथक् गायन शैली र दमदार स्टेज प्रस्तुतिका कारण उनका फ्यान संसारभर छन् । कुनै समय उनलाई ‘स्वर राम्रो छैन' भनेर गायन प्रतियोगिताबाट निकालिएको थियो भन्दा पत्याउन गाह्रो पर्छ ।
 तर यो सत्यको खुलासा साकिराले नै गरेकी छन् । साकिरा ११ वर्षको हुँदा विद्यालयमा भएको समूह गायन प्रतियोगितामा भाग लिन गएको बेला संगीतका शिक्षकले ‘बाख्राको जस्तो आवाज' भन्दै साकिरालाई समूहबाट निकालेका थिए ।
 तर गायनबाट करियर बनाउने दृढ संकल्पका साथ अगाडि बढेकी उनी यस्ता ‘रेजेक्सन'को बेवास्ता गर्दै अगाडि बढेकाले अहिले विश्वसंगीतमा सफलताको चुचुरो चुमेकी हुन् । सो घटनाबाट त्यतिबेला आफूलाई निकै लज्जा महसुस भए पनि हतोत्साही नभएको उनले हालै एक अन्तर्वार्तामा खुलासा गरेकी हुन् । पाँच वर्षको उमेरदेखि गाउन थालेको र संगीतबाहेक जीवनमा अर्को विकल्प नदेखेकाले अहिले यो स्थानसम्म आउन सकेको उनले बताएकी छन् ।
 आठ वर्षको उमेरमा आफ्नो पहिलो गीत लेखेकी उनलाई बाबुले ‘तिमी राम्रो गाउँछ्यौ, कसैको कुरा नसुन' भन्दै सम्झाउने गर्थे । शिक्षकले उनले आवाज बाख्राको जस्तो आवाज निकालेको आरोप लगाउँदा साकिरालाई आश्चर्य लाग्नुका साथै केही समय ‘ठीकै भनेको होला' भन्ने पनि लागेको थियो । 

तर गायनमा आफ्नो आत्मविश्वास र स्वमूल्यांकनबाट त्यो गलत भएको र गाउन सक्छु भन्ने विश्वास भएकाले आफू हतोत्साही नभएको उनले बताएकी छन् । एजेन्सी

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.