सेना भित्र छलफल द्वन्द्वकालीन घटनाबारे..
जेष्ठ १३, २०७३-
द्वन्द्वकालीन घटनामा कसरी अघि बढ्ने भन्नेबारे नेपाली सेनाले संगठनभित्रैबाट पनि छलफल थालेको छ । यसअघि सोमबार यही विषयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी चारै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको थियो ।
सेनाले बुधबार गरेको छलफलमा महान्यायाधिवक्ता हरि फुयाल, पूर्वप्रधानसेनापतिहरू रूक्मांगद कटवाल र छत्रमान सिंह गुरुङ तथा सम्पूर्ण पीएसओज -पि्रन्सिपल अफ स्टाफस्), अवकाश प्राप्त रथीहरू, विभिन्न निर्देशनालयका निर्देशक तथा विभिन्न पृतनाका प्राड प्रमुखहरूसमेत उपस्थित थिए ।
जंगी अड्डामा आयोजित
उक्त कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा अद्यावधिक गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए । द्वन्द्वकालमा राज्य र विद्रोही पक्षबाट भएका मानवअधिकार उल्लंघनलाई लिएर सत्य निरूपण तथा मेलमिलाप आयोगले उजुरी संकलन गरिरहेको अवस्थामा सेनाले छलफल अगाडि बढाएको हो ।
त्यस अवसरमा युद्ध अपराध, मानवअधिकार र यसको अन्य पक्षका बारे छलफल भएको उच्च स्रोतले जनाएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोगले वैशाख ५ बाट मुलुकभर उजुरी संकलन गरिरहेको छ । पीडितले सबैभन्दा बढी उजुरी सुरक्षा निकाय र त्यसमा पनि सेनाविरुद्ध दिएका कारण पनि छलफललाई महत्त्वका साथ अघि बढाइएको हो ।
द्वन्द्वकालकै युद्ध अपराधका कारण नेपाली सेनाका महासेनानी कुमार लामा २०६९ पुस १९ मा बेलायतमा समातिएका थिए । उनी अहिले पनि जेलमै छन् । नेपाल सरकार र सुरक्षा निकायका तर्फबाट उनलाई छुटाउने पहल भइरहे पनि युद्ध न्याय ऐनअनुसार बेलायती प्रहरीले छाडेको छैन ।
यस्तै समस्या फेरि बेहोर्नु नपरोस् भनेर सेनाले गम्भीर रूपमा गृहकार्य थालिरहेको अन्तक्रिर्यामा उपस्थित एक रथीले बताए ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार छलफलमा नेपाली सेनाको वस्तुस्थिति, कल्याणकारी योजना तथा मानव अधिकारसम्बन्धी प्रस्तुतीकरण गरिएको थियो भने महान्यायाधिवक्ताको कार्यालयबाट समसामयिक विषयहरूमा अन्तक्रिर्यासमेत गरिएको थियो ।
सेनाका दुवै रथी बलदेवराज महत र पूर्णचन्द्र थापा उपस्थित रहेको उक्त कार्यक्रममा बहालवाला तथा अवकाशप्राप्त सैनिकहरूले आत्मवृत्तान्त तथा अन्य विषयहरूमा पुस्तक, लेख रचना तथा अन्तर्वार्ता प्रकाशित गर्दा राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, संगठनको गोपनीयता र नेपाली सेनाको संस्थागत साखलाई मध्यनजर राखी सकारात्मक योगदान दिने रूपमा प्रकाशित गर्नुपर्नेमा समेत प्रधानसेनापति क्षत्रीले जोड दिएका थिए ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.