पत्ता लाग्यो नेपालमा शिशु मृत्युको कारण
२०७३ जेठ १२ गते
यस तस्वीरको यो समाचारप्रती कुनै सम्बन्ध छैन
काठमाडौं– नेपालमा हरेक वर्ष करिब ५ हजार बालबालिकाको जन्मेकै दिन मृत्यु हुने गरेको छ । भोलिपल्ट नै मर्नेको संख्या भने करिब एक हजार हाराहारीमा छ । यसको मुख्य कारण हो– बच्चा जन्मँदा निस्सासिनु । नेपालको जनस्वास्थ्यको प्रमुख समस्या बनेको शिशु–मृत्युको यो भयावह समस्याबारे १५ महिना लामो शोध–अध्ययनले यो निष्कर्ष निकालेको हो ।
यस्तै, २८ दिनभन्दा बढी बाँच्न नपाउनेहरूको संख्या औसतमा १४ हजार ६ सय ५१ छ । गर्भवती भएको ७ महिनापछि प्रसवका क्रममा १४ हजार २ सय ६८ शिशुहरूको मृत्यु हुन्छ । नेपालमा शिशु मृत्युदरको समस्या र यसको कारणवारे १२ स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले थापाथलीस्थित प्रसूतिगृहमा गरेको अध्ययनले जन्मेलगत्तै निस्सासिएर हुने शिशुहरूको मृत्युलाई निकै जोखिमयुक्त मानेको छ ।
अध्ययनले डाक्टर तथा अन्य स्वास्थ्यकर्मीलाई यसबारे तालिम दिएमा उल्लेख्य रुपमा शिशु मृत्युदर घटाउन सकिने निष्कर्ष पनि निकालेको हो ।
यो शोधको पूर्ण विवरण ‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’को जर्नलमा गत मे २४ मा प्रकाशित भएको छ ।
जन्मेकै दिन खुला वातावरणमा बाँच्न संघर्ष गर्ने क्रममा शिशुहरूको मृत्यु हुने गरेको अध्ययन टोलीको निष्कर्ष छ ।
अध्ययनका क्रममा ३ सय ७ जनाकोे गर्भ खेर गएको, १ सय ३६ जनाको सुत्केरी हुने क्रममा शिशु नबाँचेको र २ सय ९९ नवजात शिशु मृत्युको घटना पनि समावेश थियो । अध्ययनमा युनिसेफमा कार्यरत डा. आशिष केसीसहित स्वीडेनको उपाशाला विश्वविद्यालयका थप ३ शोधकर्मी, थापाथली प्रसूतिगृहका डा. शिला बर्मा, डा. पुष्पा चौधरी, डा. जागेश्वर गौतम, डा. धनराज अर्याल, डा. कल्पना सुवेदी संलग्न थिए ।
स्वास्थ्य मन्त्रालयका डा. नरेशप्रताप केसी र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यापक डा. केदार बरालसहितको टोलीले प्रसूति गृहमा सुत्केरी गराइएका २५ हजार १०८ घटनाको अध्ययन गरेको थियो ।
जन्मेकै दिन खुला वातावरणमा बाँच्न संघर्ष गर्ने क्रममा शिशुहरूको मृत्यु हुने गरेको अध्ययन टोलीको निष्कर्ष छ ।
अध्ययनका क्रममा ३ सय ७ जनाकोे गर्भ खेर गएको, १ सय ३६ जनाको सुत्केरी हुने क्रममा शिशु नबाँचेको र २ सय ९९ नवजात शिशु मृत्युको घटना पनि समावेश थियो ।
अध्ययनले सुत्केरी सेवा उपलब्ध अस्पतालहरूमा डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम र उपकरण उपलब्ध गराएमा जन्मँदा निस्सासिएर हुने शिशु मृत्युदर घट्ने निष्कर्ष निकालेको छ ।
अध्ययनटोलीले करिब ६ महिनाको प्रारम्भिक अध्ययनपछि डाक्टर र स्वास्थ्यकर्मीमाझ नयाँ प्रयोग गरेका थिए । ‘शिशु मृत्युको प्रमुख कारण थाहा पाएपछि हामीले उनीहरूलाई श्वासप्रश्वासमा सघाउने उपायका बारेमा सोच्न थाल्यौं’ आशिषले भने, ‘तालिम र अन्य उपायका बारेमा सहजीकरण गरेपछि सेवाको गुणस्तरमा सुधार भई अध्ययनले सकारात्मक नतिजा देखाएको हो ।
’
नेपालमा वार्षिक ७ हजारभन्दा बढी शिशुको गर्भमै मृत्यु हुने गर्दछ । कतिपय स्वास्थ्य संस्थामै गर्भवति सेवा नलिने र गर्भवति अवस्थामा हुने जटिलताले यो संख्या अझै बढी हुने अध्ययनमा पाइएको छ । करिब ६ हजार गर्भवतीहरूले सुत्केरी भएपछि जीवित शिशुको अनुहार हेर्न पाउँदैनन् ।
जन्मेकै दिन मर्नेको संख्या करिब ५ हजार छ भने एक साताको अवधिमा थप त्यति नै शिशुको देहान्त हुन्छ । ‘जन्मनासाथ मर्नेहरूको संख्या विश्वमै चुनौती र चिन्ताको विषय भएकाले यसमै केन्द्रित भएर हामीले अध्ययन गरेका हौ’ डा. आशिषले भने ।
जन्मनासाथ शिशुहरूको आयुमा तत्काल पूर्णविराम लाग्नुको कारण के हो त ? डा. आशिष सहितको टोलीले घटनाहरूको अध्ययन थाल्यो । एक साताभित्रै मर्ने शिशुहरूमाथिको अध्ययनले ४१ प्रतिशत शिशु अवधि नपुगी जन्मने गरेको भेटियो ।
२३ प्रतिशत भने जन्मिनेक्रमका श्वासप्रश्वासको समस्याका कारण बाँच्न सकेनन् । संक्रमण, निमोनिया लगायतका कारणले मर्नेहरूको हिस्सा भने तुलनात्मक रुपमा कम छ ।
६ महिनाको अध्ययनपछि डाक्टरहरूको शोधटोलीले चिकित्सक र प्रसूति वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई २ दिने ‘हेल्पीङ्ग बेबि ब्रिद’ तालिम दिएर दोस्रो चरणको अध्ययन सुरु गरे ।
निस्सासिएको शिशुलाई सही तरीकाले ब्याग र मास्कको प्रयोग गर्ने, सकेसम्म स्वास्थ्यकर्मीले आफैँले सीपको अभ्यास गर्ने, हरेक महिलालाई सुत्केरी गराउनुअघि शिशुको श्वासप्रश्वासका लागि आवश्यक उपकरण तम्तयार अवस्थामा राख्ने, सुत्केरी भैसकेपछि उनीहरूको स्वास्थ्य अवस्थाका सूचकहरूलाई अद्यावधिक गर्ने, हरेकलाई सुत्केरी गराएपछि त्यसको प्रक्रियाका बारेमा सामूहिक छलफल गर्ने, सुधारका विवरणको साप्ताहिक र मासिक मूल्यांकन गर्ने विधि अबलम्बन गरेको थियो ।
दोस्रो चरणको अध्ययनका क्रममा यी उपायका साथै हरेक महिलालाई सुत्केरी गराएपछि त्यसका प्रक्रिया र कमी कमजोरीवारे समीक्षा भए भने आवधिक रुपमा विशेषज्ञमाझ ‘पेयर–रिभ्यू’ पनि गराइयो । ‘त्यसपछि भने नतिजाले सुधारको संकेत देखाउन थाल्यो’ डा. आशिषले भने ।
प्रारम्भिक रुपमा ९ हजार ५ सय ८८ र दोस्रो चरणमा १५ हजार ५ सय २० सुत्केरी भएका घटनाहरूको अध्ययन भएको थियो ।
पहिलो चरणका क्रममा पहिलो दिन मर्नेको संख्या ४९ थियो भने दोस्रो चरणमा २९ शिशु मात्रै जन्मेको पहिलो दिनमा मरे । अध्ययनअघि पहिलो दिने मर्ने शिशुको संख्या प्रतिहजारमा ५ दशमलब ९ थियो भने सुधारका उपाय अपनाएपछि १ दशमलब ९ प्रतिहजारमा सीमित भयो । ‘हामीले स्वास्थ्यकर्मीलाई तालिम दिने र केही सुधारका उपाय अबलम्बन गर्ने हो भने पहिलो दिन शिशु मर्ने दर करिब आधा घटाउन सकिन्छ भन्ने देखिएको छ’ डा. आशिष भन्छन् ।
गर्भमै रहँदा आमाकै पोषणबाट हुर्किने बच्चा खुला आकाशमा निस्कनासाथ बाँच्नका लागि गर्ने संघर्ष जोखिमपूर्ण हुन्छ । यही अवधिमा गर्नुपर्ने स्याहारबारे डाक्टर र स्वास्थ्यकर्मीले पर्याप्त तालिम र अवसर पाउने हो भने उनीहरूको जीवन संरक्षण सम्भव रहेको अध्ययनको निष्कर्ष हो ।
गर्भमै रहँदा आमाकै पोषणबाट हुर्किने बच्चा खुला आकाशमा निस्कनासाथ बाँच्नका लागि गर्ने संघर्ष जोखिमपूर्ण हुन्छ । यही अवधिमा गर्नुपर्ने स्याहारबारे डाक्टर र स्वास्थ्यकर्मीले पर्याप्त तालिम र अवसर पाउने हो भने उनीहरूको जीवन संरक्षण सम्भव रहेको अध्ययनको निष्कर्ष हो ।
यसले सुत्केरी हुने क्रममा र पहिलो दिन मर्ने शिशुहरूलाई बचाउन सक्ने देखिएको छ ।
सन् २०१२ को जुलाईदेखि डिसेम्बरसम्म प्रारम्भिक अध्ययन मात्रै गरिएको थियो । श्वासप्रश्वासका कारण मृत्यु हुनेको समस्या देखिएपछि सुधारका उपायसहित सुरु गरिएको अर्को दश महिने अध्ययनका क्रममा भने बच्चा खेर जाने र पहिलो दिन मर्ने घटनामा उल्लेख्य कमी आएको पाइन्छ । यो अवधिमा निस्सासिएको शिशुमा ब्याग र मास्कको प्रयोग २ दशमलब ५३ गुणाले बढाइएको थियो ।
‘यो अध्ययनले सुत्केरी गराउने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरू सजग भएर निस्सासिएको शिशुको सही ढंगले तुरुन्त ध्यान दिएमा शिशु मृत्युदर घटाउन सकिने निष्कर्ष निकालेको छ’ डा. आशिष भन्छन्, ‘अन्य अस्पताल तथा स्वास्थ्यसंस्थामा पनि तालिम दिने हो शिशु मृत्युदर घटाउन ठूलै योगदान हुनेछ ।’
थापाथलीस्थित प्रसूतिगृहमा ४ सयभन्दा बढी बेड र साढे २ सयको हाराहारीमा डाक्टर तथा स्वास्थ्यकर्मी कार्यरत छन् ।
बर्थिङ सेन्टर, लेबर रुम र अपरेशन थिएटरलगायतबाट अस्पतालले वार्षिक करिब २२ हजार जनालाई सुत्केरी गराउँछ । शोध अध्ययन हुनुअघि नै अस्पतालमा गरिएको अध्ययनअनुसार जन्मनुअघि नै गर्भमा शिशुको मृत्यु हुने दर प्रतिहजारमा १९ र नवजात शिशु मृत्युदर प्रतिहजारमा ११ थियो । मुलुककै सुविधासम्पन्न अस्पतालमा पर्ने भएकाले प्रसूति गृहको तथ्यांकले देशको राष्ट्रिय परिस्थिति चित्रण भने गर्दैन ।
नेपालमा करिब २३ दशमलब ७ प्रतिशत जनता दैनिक एक दशमलब २५ अमेरिकी डलर पनि आर्जन गर्न नसकेर गरिबीको रेखामुनी छन् ।
औसत आयु ६९ दशमलब ६ महिना छ । नेपालमा वार्षिक ६ लाख ३७ हजारको हाराहारीमा शिशु जन्मिने गरेको आँकडा छ । त्यसमध्ये हजारजनामा ३८ बालक ५ वर्षभन्दा कम उमेरमै मर्छन् । त्यति नै दरमा करिब २३ नवजात शिशुको मृत्यु एक वर्षभन्दा कम उमेरमा मृत्यु हुन्छ ।
गर्भवती भएको सात महिनादेखि सुत्केरीका क्रममा भ्रुणको मृत्यु हुने दर २२ दशमलब ४ छ ।
यसैवर्ष संयुक्त राष्ट्रसंघले तय गरेर सार्वजनिक भएको दिगो विकास लक्ष्यले नवजात शिशु र बाल मृत्युदरको अन्त्य गर्ने उद्देश्य राखेको छ ।
यसका लागि सबै क्षेत्रमा स्वास्थ्यसेवा, औषधि तथा खोप पु¥याउने लक्ष्य राखिएको छ । यी उपायका साथै मुलुकका सबै अस्पताल र प्रसूति सेवा उपलब्ध स्वास्थ्य निकायमा नवजात शिशु जोगाउने तालिम र उपायहरू अपनाए शिशु मृत्युदर नियन्त्रणमा नेपाली प्रयास अन्तर्राष्ट्रियस्तरमै उदाहरण बन्ने डा. आशिष बताउँछन् ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.