चीनले रेलमार्गबाट सिगात्सेसम्म ल्याईदिएको सामान काठमाडौं आईपुग्यो
जेष्ठ ११, २०७३
नेपाल र चीनबीच व्यापार–व्यवसाय अभिवृद्धि गर्ने क्रममा रेलमार्गबाट सामान आउँन थालेको छ । चीनले निकै लामो दूरी पार गर्दै रेलद्वारा नेपालको माग बमोजिमका सामान सिगात्सेसम्म ल्याईदिएको थियो ।
सिगात्सेबाट नेपाली कन्टेनर मार्फत ती सामाग्री काठमाडौंमा ल्याइएको छ ।
चिनियाँ रेलबाट आएको अधिकांश सामाग्रीहरु लत्ताकपडा,विद्युतीय सामान र दैनिक उपभोग्य बस्तु लगायतको सामाग्री रहेको हिमालयन सिमापार वाणिज्यसंघले जनाएको छ ।
जहाजबाट भन्दा रेलमार्ग छिटो र ढुवानी लागत पनि कम लाग्ने भएकाले यसले दुई देशबीच व्यापार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
काठमाडौं केन्द्रीत रेल्वे सेवा सञ्चालनपछि चीनका विभिन्न प्रान्तको दक्षिण एशियाका मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने हिमालयन सिमापार वाणिज्य संघले बताएको छ ।
यसले नेपालमा पनि सामान छिटो, भरपर्दो र सुरक्षित तरिकाले आयात गर्न सकिने संघले जनाएको छ । ढुवानी लागत कम लाग्ने भएकाले यसले सामानहरु पनि सस्तो पर्ने हिमालयन सिमापार वाणिज्यसंघका महासचिव अजुर्नप्रसाद गौतमले बताउनुभयो ।
ढुवानीको कारण अनेक हैरानी खेप्न परेका व्यापारीहरुमा चिनियाँ रेल्वे सेवाको शुरुवातले उत्साह थपिदिएको छ । यो उत्साहलाई निरन्तरता दिन नेपाल सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.