सबै तीर्थयात्री हिल्साबाटै
जेष्ठ १२, २०७३-
महाभूकम्पपछि चीनले तातोपानी र केरुङ नाका बन्द गरेकाले त्यसको असर मानसरोवर तीर्थ यात्रामा पनि परेको छ । तिब्बती रुट नखुल्दा हजारौं भारतीय तीर्थालु नेपालगन्ज–सिमकोट–हिल्सा हुँदै कैलाश परिक्रमामा गएका छन् ।
विगतमा अतिकम पर्यटक उक्त मार्गबाट मानसरोवर जान्थे । तातोपानी र केरुङ नाका नखुल्दा उनीहरू नेपालगन्जबाट सिमकोट हुँदै गइरहेका छन् । भारतीय पर्यटकको चापले नेपालगन्ज विमानस्थलमा भीडभाड छ ।
दिनहुँ कम्तीमा तीन उडान भइरहेका छन् । हुम्ला सिमकोटबाट तिब्बती सीमा हिल्सासम्म तीर्थयात्रु ओसार्न सिम्रिक, मनाङ र फिस्टेलका हेलिकप्टरलाई भ्याइनभ्याई छ । नेपाल एयरलाइन्स, तारा, गोमा, सिम्रिक, मकालु र एयर काष्ठमण्डपले नेपालगन्ज–सिमकोट नियमित उडान भरिरहेका छन् । कैलाश दर्शनका तीर्थयात्रुबाहेकले हवाई टिकट पाउन मुस्किल छ ।
कैलाश चार्टर सर्भिसका श्रीराम केसीले भने, ‘तातोपानी र केरुङ नखुल्दा यस वर्ष सिमकोट–हिल्साबाट पठाइरहेका छौं ।’ मेदेखि सेप्टेम्बरसम्म मानसरोवर जाने पर्यटक आउँछन् । हालसम्म एक हजार दुई सयले कैलाश दर्शन गरिसकेको उनले बताए ।
भारतका चेन्नई, गुजरात, आन्ध्रप्रदेश, कर्नाटक र तामिलनाडुका यात्री धेरै छन् ।
हैदरावादका रागव कुमार नवौं पटक मानसरोवर जाँदैछन् । यसपटक उनी पत्नी भ्रमारम्बालाई पनि लैजाँदैछन् । रागवसँगै हैदरावादका १९ जना सोमबार नेपालगन्जबाट सिमकोट उडेका छन् ।
१८ ट्राभल कम्पनीले करिब ८ हजार पर्यटकलाई कैलाश दर्शन गराउँदैछन् ।
नेपालगन्ज–सिमकोट–हिल्सा रुट केही महँगो छ । तिब्बती रुटबाट जाँदा गत वर्षसम्म एक लाख ८५ हजार रुपैयाँ लाग्थ्यो ।
तीन हजार सात सय ५० मिटर उचाइको र्यालम कुटीबाहेक तिब्बती रुटमा समस्या नरहेको व्यवसायीको भनाइ छ ।
अहिले यो रुटको १० दिने प्याकेज खर्च दुई लाख ६४ हजार छ ।
लखनउबाट आउने पर्यटकको आठ दिने प्याकेजको खर्च दुई लाख ३२ हजार रहेको श्रेष्ठ ट्रेक काठमाडौंका अशोक श्रेष्ठले बताए । मेको बुद्धपूर्णिमा र जुनको पूर्णिमामा कैलाश दर्शनका लागि पर्यटकको भीड लाग्ने गर्छ ।
मौसमी प्रतिकूलता र सीमित उडानका कारण सयौं तीर्थालु अहिले सिमकोट, नेपालगन्ज र हिल्सामा रोकिएका छन् ।
बुद्ध पूर्णिमामा कैलाश दर्शन गरेर फर्किने क्रममा रहेका करिब दुई सय जना हिल्सामा अलपत्र छन् ।
एक्सप्लोर भ्याकेसनका मोहन गुरुङले उक्त कम्पनीमार्फत १४६ ले कैलाश परिक्रमा गरेको बताए । केरुङ नाका खुला भए वार्षिक २५ हजार पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । हवाई मार्गबाट हुम्ला हुँदै जाँदा प्याकेज लम्बिने, खर्च बढ्ने र व्यवस्थापनमा कठिनाइ हुने गुरुङले बताए ।
‘हिल्साका एकाध सामान्य होटलमा तीन सय तीर्थालु अटाउनुपर्छ ।
हुम्ला सिमकोटमा दुई सय पर्यटकलाई राख्न सक्ने राम्रो प्रबन्ध छैन,’ उनले भने, ‘पूर्वाधार विकास नहुँदासम्म तिब्बती रुट नै राम्रो छ ।’
यस वर्ष सिमकोट हुँदै १५ हजार तीर्थालु मानसरोवर जाने हुम्लाका पर्यटन व्यवसायीले जनाएका छन् ।
तीर्थयात्रुको चापका कारण हुम्लाका बासिन्दाले हवाई टिकट पाउन गाह्रो छ । सिमकोट विमानस्थलमा दैनिक ६/७ वटा उडान हुने गर्छन् । सिमकोटमा चारवटा हेलिकप्टर तम्तयार छन् ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.